रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज आफ्नो प्रशारण यात्राको सातौं वर्षमा प्रवेश

 रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज आफ्नो प्रशारण यात्राको सातौं वर्षमा प्रवेश 



गणतन्त्र दिवसको ऐतिहासिक अवसर सँगै "रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज" ले आफ्नो नियमित प्रसारणको ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । पूर्वी रुकुम बहुदलीय समाज विकास केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज २०७६ साल जेठ १५ गते अर्थात् आजकै दिन दिनदेखि आफ्नो आधिकारिक प्रसारण यात्रा सुरु गरेको थियो ।


स्थानीय तहमा स्थापित भए पनि राष्ट्रिय दृष्टिकोण, समावेशी आवाज र जनमुखी धारणा लिएर सञ्चालित रेडियो पूर्वी रुकुमले स्थापना कालदेखि नै विविधता, समानता र अभिव्यक्तिको स्वतन्त्रतालाई आत्मसात गर्दै आएको छ । ग्रामीण जनताको आवाज उजागर गर्न निरन्तर क्रियाशील भूमिका खेल्दै आएको रेडियोले सूचना, शिक्षा, स्वास्थ्य, समावेशी शासन, मानवअधिकार, महिला तथा दलित सशक्तीकरणजस्ता विषयवस्तुमा केन्द्रित कार्यक्रमहरू प्रसारण गर्दै आएको छ ।


रेडियोले एफ.एम. प्रसारणसँगै अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत पनि सामग्री सार्वजनिक गर्दै आएको छ । रेडियोले पछिल्लो समय भिडियो सामग्रीलाई उच्च प्राथमिकतामा राखेर नयाँ पुस्तासम्मको पहुँचमा थप सहजता ल्याएको छ भने प्रविधिको नवीनतम प्रयोग गर्दै डिजिटल रुपान्तरणतर्फ समेत रेडियोले महत्वपूर्ण पाइला चालेको छ ।


रेडियोका अध्यक्ष लालबहादुर बिष्ट (प्रभात) ले जारी गरेको प्रेस-विज्ञप्तिमा सम्पूर्ण सहयोगी दाता, स्थानीय सरकार, शुभेच्छुक, श्रोता, पत्रकार, नागरिक समाज तथा साझेदार संघ संस्था प्रति आभार प्रकट गरिएको छ । उक्त प्रेस-विज्ञप्तिमा आगामी दिनहरूमा झन् प्रभावकारी, जिम्मेवार र समावेशी कार्यक्रमहरू प्रस्तुत गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।।

Comments