"संसदमा आज गृहमन्त्रीले जवाफ दिने तयारी, राजीनामा नआए विपक्षी दलको संसद अवरुद्ध गर्ने चेतावनी"
"संसदमा आज गृहमन्त्रीले जवाफ दिने तयारी, राजीनामा नआए विपक्षी दलको संसद अवरुद्ध गर्ने चेतावनी"
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै मुछिएको आरोप लागेपछि विपक्षी दलहरुले उनको राजीनामालाई बटमलाइन बनाएका छन् । तर गृहमन्त्री लेखकले भने यसमा आफ्नो संलग्नता नरहेको र संसदलाई जवाफ दिन तयार रहेको बताएका छन् । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिए । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईलाई बदमासी गरेको थाहा पाएरै हटाएको दावी गरेका हुन् ।
भिजिट भिसामा सेटिङ प्रकरणमा के भएको हो भनेर नेताहरूले कुरा उठाएपछि बैठकमा लेखकले भनेका थिए, ‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ, मेरो कुनै संलग्नता छैन ।’ गृह मन्त्रालय स्रोतका अनुसार प्रमुख अध्यागमन अधिकृत भट्टराईले एक महिनादेखि सरुवा माग्न मन्त्रालयमा धाइरहेका थिए । तर, गृहमन्त्री लेखकले भने अन्य विश्वासिलो मान्छे भेटिएको छैन भन्दै भट्टराईलाई रोकिरहेका थिए । त्यसपछि जेठ ६ गते पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाले प्रमुख अध्यागमन अधिकृत भएर जान राजी भएपछि भट्टराईलाई हटाइएको हो ।
स्रोतहरू भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा मानिस विदेश जाँदा गर्ने गरेको आर्थिक चलखेल र सेटिङबारे गृहमन्त्री पूर्ण रूपमा जानकार रहेको बताउँछन् । यसबारे अख्तियारले छानविन गरिरहेकाे छ । यसैबीच त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई अख्तियारले १० दिनको ‘तारेख’ दिएको छ । उनलाई १० दिनपछि आउन भनेर तारेखमा राखिएको हाे । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने कार्यसूची छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ। त्यसैगरि महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।
Comments
Post a Comment